काठमाडौँ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूले आज श्रावण शुक्ल पञ्चमीका दिन परम्पराअनुसार नागको पूजाअर्चना गरी नागपञ्चमी पर्व मनाउँदै छन्। यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमास अनुसार भदौको पहिलो दिन परेको यस पर्वमा घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर पूजा गर्ने गरिन्छ। नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका विषालु जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा.डा. देवमणि भट्टराईले जानकारी दिएका छन्।
वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाए भने पानीको अभाव हुने भएकाले वर्षाका लागि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो। वराहपुराणमा श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको सम्वाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ। धार्मिक विश्वासअनुसार प्रत्येक घरको जगमुनि नाग बसेका हुन्छन् र नाग रिसाए घरको जग नै भत्कन्छ भन्ने मान्यताका कारण पनि नाग पूजाको परम्परा निरन्तर चल्दै आएको छ। भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेषनागको शय्यामा शयन गर्ने भएकाले नागलाई विष्णु र शिवकै रूपमा मान्ने प्रचलन छ।
नागपञ्चमी मनाउनुको पछाडि किसान र नागिनीको किंवदन्ती तथा गुरु गोरखनाथले नौ नागको आसनमा बसी तपस्या गर्दा बाह्र वर्षसम्म पानी नपरेको र पछि गुरु मत्स्येन्द्रनाथको आगमनपछि नाग मुक्त भई वर्षा भएको पौराणिक कथा जोडिएको छ। सनातन परम्पराअनुसार आजका दिन अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ कूलका नागहरूको पूजाआजा गरी घरको ढोकामा टाँसिन्छ। आजको दिन खेतबारीमा खनजोत नगर्ने र घिस्रने जनावरलाई मार्न नहुने धार्मिक नियम छ।
आज काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा भक्तजनको घुइँचो लाग्ने गर्छ। पूजाका क्रममा नागलाई गाईको दूध, अक्षता, दुबो, खीर र रोटी चढाउने गरिन्छ। वैज्ञानिक दृष्टिकोणबाट पनि नाग–सर्पले प्रकृतिमा रहेका विषालु पदार्थको शोषण गरी मानवजातिको रक्षा गर्ने भएकाले ऋषिमुनिहरूले नागपूजाको रीति बसालेको मानिन्छ। नागपञ्चमीको आगमनसँगै वैदिक सनातनी पर्वहरूको मुख्य याम सुरु हुने गर्छ।