धनगढी । सुदूरपश्चिम प्रदेशभर यतिबेला मौलिक तथा सांस्कृतिक पर्व गौराको भव्य रौनक छाएको छ। भदौ शुक्ल पञ्चमीदेखि विधिवत् रूपमा आरम्भ भएको यस पर्वको मुख्य दिन आज ’अठवाली’ अर्थात् अष्टमी, प्रदेशभर हर्षोल्लासका साथ मनाइँदैछ। दार्चुला, बैतडी, डडेल्धुरा लगायतका पहाडी जिल्लाहरूका गौरादेवी मन्दिरमा जात्रा लागेको छ भने तराईका कैलाली र कञ्चनपुरमा बसोबास गर्ने पहाडी समुदायले पनि मन्दिर तथा गौरा खलामा जम्मा भई पूजाआजा गरिरहेका छन्।
गौरा पर्व सुदूरपश्चिमको मात्र नभई छिमेकी भारतको उत्तराखण्डस्थित कुमाउ र गढवाल क्षेत्रमा समेत आ–आफ्नै धार्मिक मान्यताअनुसार मनाउने गरिन्छ। रोजगारी तथा अध्ययनका सिलसिलामा देश बाहिर वा शहरतिर गएका नागरिकहरू पर्व मनाउन गाउँ फर्किएपछि अहिले सुदूरपश्चिमका बस्तीहरू भरिभराउ र चहलपहलपूर्ण बनेका छन्।
पौराणिक परम्पराअनुसार भदौ शुक्ल पञ्चमीका दिन (बिरुडा पञ्चमी) महिलाहरूले तामाको भाँडामा केराउ, गहत, गहुँ, मास र गुरौस गरी पाँच प्रकारका अन्न (बिरुडा) भिजाएर पर्वको सुरुआत गरेका थिए। षष्ठीका दिन नजिकैको धारा वा पोखरीमा बिरुडा धोएर सप्तमीका दिन गौरा देवीलाई मन्दिरमा भित्र्याई विवाहित महिलाहरूले दुवधागो चढाउने गर्दछन्। आज अष्टमी अर्थात् दुर्वाष्टमीका दिन महिलाहरूले दिनभर व्रत बसी गौरा खलामा शिव र पार्वतीको रूपमा गौरा देवीको विशेष पूजापाठ गरिरहेका छन्।
गौरा पर्वको मुख्य आकर्षणका रूपमा देउडा खेललाई लिइन्छ। गौरा खलामा पुरुष तथा महिलाहरूले समूहबद्ध भई पौराणिक कथा, देवीदेवताका गाथाका साथै चैतली, धुमरी र ढुस्को भाकामा देउडा खेल्ने गर्दछन्। देउडा गीतका माध्यमबाट समाजमा व्याप्त विकृति र देशको समसामयिक राजनीतिक अवस्थामाथि तिखो व्यङ्ग्य प्रहार गर्नुका साथै सुख–दुःख साटासाट गरी सामाजिक सद्भाव अभिवृद्धि गर्ने गरिन्छ।