काठमाडौं । बेलायतकी अभिनेत्री लुसी डेभिसले आफूलाई निको पार्न नसकिने इन्क्युरेबल स्तन क्यान्सर भएको खुलासा गरेपछि महिलाहरूलाई आफ्नो स्तनमा देखिने तथा महसुस हुने असामान्य परिवर्तनप्रति सचेत रहन आग्रह गरेकी छन्।
‘द अफिस’को बेलायती संस्करणमा डन टिन्स्लीको भूमिका निर्वाह गरेकी ५३ वर्षीया डेभिसले सामाजिक सञ्जालमार्फत आफ्नो स्तन क्यान्सर हड्डीसम्म फैलिसकेको र अब केमोथेरापी गर्न निकै ढिला भइसकेको बताएकी छन्।उनले सुरुमा आफूले महसुस गरेको परिवर्तन सामान्य अर्थमा ‘गाँठो’ नभएको बताएकी छन्। उनका अनुसार त्यो निकै सानो र कडा भागजस्तो मात्र महसुस भएको थियो।स्वास्थ्य विशेषज्ञहरूका अनुसार स्तन क्यान्सर हुँदा सधैं स्पष्ट गाँठो मात्र देखिन्छ भन्ने हुँदैन। त्यसैले आफ्नो स्तन वा छाती सामान्य अवस्थामा कस्तो देखिन्छ र कस्तो महसुस हुन्छ भन्नेबारे जानकारी राख्नु महत्वपूर्ण हुन्छ।नियमित रूपमा आफ्नो स्तन वा छाती जाँच गर्दा नयाँ वा असामान्य परिवर्तन चाँडै पहिचान गर्न मद्दत पुग्न सक्छ।
ध्यान दिनुपर्ने प्रमुख परिवर्तनहरू
. स्तन, छाती वा काखीमा गाँठो वा असामान्य सुन्निनु
. स्तनको छालामा खाल्डो पर्नु, रातो हुनु वा सुन्तलाको बोक्राजस्तो देखिनु
. स्तनको आकार वा बनावटमा असामान्य परिवर्तन आउनु
. गर्भवती वा स्तनपान गराइरहेको अवस्था नभए पनि निप्पलबाट तरल पदार्थ निस्कनु, विशेषगरी रगत मिसिएको हुनु
. निप्पल भित्रतिर फर्किनु वा निप्पल वरिपरि एक्जिमाजस्तो दाग देखिनु
. स्तन वा छातीमा घाउ वा नभरिने अल्सर देखिनु
ऐनाको अगाडि उभिएर पहिले हात शरीरको छेउमा राखी स्तन वा छातीको आकार, छालाको अवस्था र निप्पलमा कुनै परिवर्तन छ कि छैन हेर्न सकिन्छ। त्यसपछि हात माथि उठाएर फेरि हेर्नुपर्छ।त्यसपछि औंलाको टुप्पो प्रयोग गरी स्तन तथा छातीको भागलाई गोलाकार रूपमा बिस्तारै छाम्दै काखी र कलरबोनसम्म जाँच गर्न सकिन्छ। हल्का र केही बलियो दबाब दुवै प्रयोग गर्न सकिन्छ, तर दुख्ने गरी थिच्नु हुँदैन।निप्पल वरिपरिको भाग पनि ध्यानपूर्वक जाँच गर्नुपर्छ।स्तनको आकार र बनावट महिनावारीको विभिन्न चरणमा तथा उमेरसँगै स्वाभाविक रूपमा परिवर्तन हुन सक्छ। त्यसैले सबै परिवर्तन क्यान्सरकै संकेत हुँदैनन्। तर आफूमा सामान्य नभएको नयाँ परिवर्तन देखिएमा त्यसलाई बेवास्ता नगरी स्वास्थ्यकर्मीसँग परामर्श गर्नु महत्वपूर्ण हुन्छ।