काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०८३ जारी गरेको छ।
मन्त्रालयअन्तर्गतको शैक्षिक परामर्श प्रमाणीकरण शाखाले मंगलबार सूचना जारी गर्दै नेपाल सरकारले स्वीकृत गरेको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ कार्यान्वयनमा आइसकेपछि त्यसको प्रभावकारी कार्यान्वयनका लागि उक्त निर्देशिका लागू गरिएको जनाएको हो। शाखाका अनुसार नियमावली २०८३ वैशाख २५ गते नेपाल राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आएको थियो। नियमावली कार्यान्वयनका क्रममा देखिएका व्यावहारिक पक्षलाई सम्बोधन गर्दै सेवा सञ्चालनमा एकरूपता कायम गर्न मन्त्रीस्तरीय निर्णयबाट निर्देशिका जारी गरिएको हो।
मन्त्रालयले २०८३ साउन १९ गते मन्त्रीस्तरबाट निर्देशिका स्वीकृत गरेको जनाएको छ। निर्देशिका लागू भएसँगै शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र तथा तयारी कक्षा सञ्चालन गर्ने संस्थाले सोही निर्देशिकाअनुसार सेवा सञ्चालन गर्नुपर्नेछ। उपसचिव हेमन्तराज कोइराला द्वारा हस्ताक्षरित सूचनामा निर्देशिकाको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित सबै संस्था तथा सरोकारवालालाई जानकारी गराइएको उल्लेख छ। मन्त्रालयले यसबाट शैक्षिक परामर्श तथा भाषा शिक्षण सेवामा पारदर्शिता, गुणस्तर र उत्तरदायित्व अभिवृद्धि हुने अपेक्षा गरेको छ।

