काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपति नियुक्ति प्रक्रियाअन्तर्गत छनोट तथा सिफारिस समितिले १० जना उम्मेदवारको सर्टलिस्ट सार्वजनिक गरेको छ।
समितिले प्राप्त ३५ आवेदनमध्ये छनोट गर्दै दयाराम पोखरेल, निरञ्जन पराजुली, बालचन्द्र लुइटेल, विकास नकर्मी, बिमप्रसाद श्रेष्ठ, राजेन्द्र जोशी, विवेक बराल, शेषानन्द सन्जेल, सुवोध शर्मा र हरिप्रसाद न्यौपानेलाई अन्तिम प्रतिस्पर्धाका लागि छनोट गरेको हो।
सार्वजनिक गरिएका उम्मेदवारबारे इच्छुक पक्षले साउन २० गतेभित्र राय तथा सुझाव पेश गर्न सक्ने व्यवस्था गरिएको छ। त्यसपछि साउन २२ गते उम्मेदवारहरूको १५ मिनेटको प्रस्तुतीकरण र त्यसलगत्तै अन्तर्वार्ता लिइने कार्यक्रम तय गरिएको छ।
काठमाडौं विश्वविद्यालयले विगत तीन महिनादेखि उपकुलपति पाउन नसक्दा नीतिगत तथा प्रशासनिक निर्णय प्रभावित हुँदै आएका छन्। नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेकाले सरकारले अबको एक साताभित्र नयाँ उपकुलपतिको नियुक्ति गर्ने तयारी गरेको जनाएको छ।