काठमाडौं । विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले सोमबार वीर अस्पताल परिसरमा प्रदर्शन गरेका छन्।
नर्सिङ क्षेत्रको सुधारका लागि नर्स ज्योति रानाभाटले सुरु गरेको आमरण अनशन पाँचौं दिनमा प्रवेश गरेसँगै देशभरका नर्सहरूले उनको मागप्रति ऐक्यबद्धता जनाउँदै प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागी नर्सहरूले न्यूनतम पारिश्रमिकको सुनिश्चितता, श्रम शोषणको अन्त्य, सम्मानजनक सेवा–सुविधा र नर्सिङ क्षेत्र सुधारका लागि अघि सारिएका १५ बुँदे माग तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।
उनीहरूले ‘१५ बुँदे माग पूरा गर’, ‘ज्योतिको जीवन बचाऊ’, ‘न्यायमा ढिलाइ, जीवनमा जोखिम’, ‘नर्सिङ सुधारको स्पष्ट रोडम्याप लागू गर’ र ‘नर्स बचाऔं, स्वास्थ्य बचाऔं’ लगायतका सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
प्रदर्शनकारीहरूले सरकारसँग तत्काल वार्ता गरी नर्सिङ क्षेत्रका समस्या समाधान गर्न र आमरण अनशनरत रानाभाटको जीवनरक्षाका लागि ठोस पहल गर्न आग्रह गरेका छन्।