काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्ना माग सम्बोधन नभए भदौ महिनादेखि देशव्यापी आन्दोलन सुरु गर्ने निर्णय गरेको छ।
महासंघको परिषद् बैठकले आन्दोलन गर्ने निर्णय गरेको जानकारी महासचिव तुलाबहादुर थापाले दिएका छन्। उनका अनुसार आन्दोलनको ठोस कार्यतालिका र मिति विस्तारित कार्यालय बैठकले तय गर्नेछ।
महासंघले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न सरकारसँग पुनः माग गरेको छ। साथै, हाल प्रस्तावित शिक्षा नियमावलीको दशौं संशोधनमा समेटिएका केही प्रावधानप्रति महासंघले असहमति जनाएको छ।
महासंघका अनुसार शिक्षा क्षेत्रका समस्या समाधानका लागि विद्यालय शिक्षा ऐन शीघ्र जारी हुनु आवश्यक छ। साथै नियमावलीमा समावेश गरिएका केही व्यवस्थाले शिक्षक तथा विद्यालय कर्मचारीका हित सम्बोधन नगरेको महासंघको भनाइ छ।
महासंघले लामो समयदेखि शिक्षक सरुवा प्रणालीलाई व्यवस्थित बनाउन, विद्यालय कर्मचारीको सेवा–सुविधा सुनिश्चित गर्न, ईसीडी (प्रारम्भिक बालविकास) शिक्षकको व्यवस्थापन गर्न तथा अस्थायी प्रकृतिका शिक्षकहरूको सेवा व्यवस्थापन गर्न सरकारसँग माग गर्दै आएको छ।
यी मागमा सरकारले ठोस पहल नगरे आन्दोलनलाई अघि बढाइने महासंघले जनाएको छ।a