काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन सङ्कायअन्तर्गत स्नातकोत्तर प्रथम सेमेस्टरको प्रश्नपत्र लिक प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा रौतहटको राजदेवी नगरपालिका–४ का २५ वर्षीय अतुलकुमार मिश्र र बाराको लिपनीमाल–१ घर भई हाल पर्साको वीरगञ्ज–२१ बस्ने ३१ वर्षीय अब्दुलसानी हाकिम रहेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराका अनुसार मिश्रलाई साउन १० गते काठमाडौँको ताहाचलबाट र हाकिमलाई साउन ११ गते वीरगञ्जबाट पक्राउ गरिएको हो।
पक्राउ परेका दुवै जनामाथि प्रश्नपत्र लिक प्रकरणमा संलग्नताको विषयमा थप अनुसन्धान अगाडि बढाइएको सीआईबीले जनाएको छ।