काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले परीक्षा आचारसंहिता उल्लंघन गर्ने परीक्षार्थीमाथि कडा कारबाही हुने चेतावनी दिएको छ।
विश्वविद्यालयले नियम विपरीतका गतिविधिमा संलग्न पाइए परीक्षा रद्द गर्नुका साथै आवश्यक परे कानुनी प्रक्रिया समेत अघि बढाइने जनाएको छ।
व्यवस्थापन संकायअन्तर्गत सञ्चालन भइरहेका स्नातक, स्नातकोत्तर तथा एमफिल तहका परीक्षामा करिब १७ हजार विद्यार्थी सहभागी रहेको जानकारी दिँदै त्रिविका रजिस्ट्रार प्रा.डा. महानन्द चालिसेले परीक्षा निष्पक्ष बनाउन सबैको सहयोग आवश्यक रहेको बताए। उनले कुनै पनि शंकास्पद वा अनुचित गतिविधि देखिए तत्काल प्रहरीलाई जानकारी गराउन परीक्षार्थीलाई आग्रह गरे।
परीक्षा नियन्त्रण महाशाखाले जारी गरेको सूचनाअनुसार परीक्षार्थीले वैध प्रवेशपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ। तोकिएको सिटमै बसेर परीक्षा दिनुपर्ने तथा केन्द्राध्यक्ष वा निरीक्षकको अनुमति बिना आफ्नो सिट वा परीक्षा भवन छाड्न नपाइने व्यवस्था गरिएको छ।
त्रिविले परीक्षा सुरु भएको एक घण्टासम्म परीक्षा भवनबाट बाहिर निस्कन नपाइने स्पष्ट पारेको छ। साथै मोबाइल फोन, स्मार्टवाच, चिट, पुस्तक वा अन्य निषेधित सामग्री परीक्षा केन्द्रभित्र लैजान पूर्ण प्रतिबन्ध लगाइएको छ।
नक्कल गर्ने, अरूलाई नक्कल गर्न सहयोग गर्ने, अर्काको सट्टा परीक्षा दिने, परीक्षा सञ्चालनमा अवरोध सिर्जना गर्ने वा परीक्षा कर्मचारीप्रति अभद्र व्यवहार गर्ने कार्य पनि निषेध गरिएको विश्वविद्यालयले जनाएको छ। परीक्षा अवधिभर केन्द्राध्यक्ष, पर्यवेक्षक, निरीक्षक तथा अन्य परीक्षा कर्मचारीको निर्देशन अनिवार्य रूपमा पालना गर्नुपर्ने उल्लेख गरिएको छ।
त्रिविले जारी गरेको सूचनामा परीक्षा नियम तथा आचारसंहिता उल्लंघन गरेको पुष्टि भए परीक्षा रद्द गरिनुका साथै निश्चित अवधिसम्म परीक्षामा सहभागी हुन रोक लगाउने र आवश्यक परे कानुनी कारबाहीसमेत गरिने चेतावनी दिइएको छ।
