काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेट गर्दै शिक्षा, खेलकुद तथा द्विपक्षीय सहकार्यका विविध विषयमा छलफल गरेका छन्। सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिका सम्बन्धलाई अझ सुदृढ बनाउने, शिक्षा क्षेत्रमा जारी सहकार्यलाई विस्तार गर्ने तथा साझा हितका विषयमा विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ।
भेटका क्रममा प्राविधिक तथा व्यावसायिक शिक्षाको विकास, सीपमूलक शिक्षाको प्रवर्द्धन, खेलकुद क्षेत्रको विकास तथा आगामी दिनमा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विशेष छलफल भएको थियो। अमेरिकाले नेपालमा शिक्षा क्षेत्रको विकासका लागि विगतदेखि गर्दै आएको सहयोगलाई निरन्तरता दिने विषय पनि बैठकमा उठाइएको थियो। अमेरिकी सहयोग नियोग (यूएसएआईडी) मार्फत सञ्चालन भएका ‘अर्ली ग्रेड रिडिङ’ र ‘अर्ली ग्रेड लर्निङ’ कार्यक्रमका साथै कलेज अफ एजुकेशनमार्फत प्राप्त सहयोगको पनि छलफलका क्रममा समीक्षा गरिएको थियो। मन्त्री पोखरेलले नेपाल र अमेरिकाबीचको ऐतिहासिक तथा विश्वासमा आधारित सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गर्दै सरकारले शिक्षा क्षेत्रमा विभिन्न सुधारका कार्यक्रम अघि बढाइरहेको जानकारी दिए। उनले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन भइरहेको र सैद्धान्तिक शिक्षाभन्दा व्यवहारिक तथा सीपमूलक शिक्षामा जोड दिइने बताए।
उनका अनुसार नयाँ पाठ्यक्रममा विद्यालय तहदेखि नै खेलकुदलाई समेट्ने तयारी भइरहेको छ। साथै विद्यालयहरूको भौतिक पूर्वाधारको मूल्याङ्कन गरी आवश्यकताअनुसार बजेट विनियोजन गर्ने योजना सरकारको रहेको पनि उनले जानकारी दिए। मन्त्री पोखरेलले सुरक्षित विद्यालय पूर्वाधार, डिजिटल तथा स्मार्ट लर्निङ, शिक्षकको पेसागत क्षमता अभिवृद्धि, विद्यालय स्वास्थ्य र पोषणलगायतका क्षेत्रमा अमेरिकासँग सहकार्य विस्तार गर्न सकिने धारणा राखे। कार्यवाहक राजदूत अर्बमले नेपाल सरकारले शिक्षा र खेलकुद क्षेत्रमा अघि सारेका सुधारका कार्यक्रमप्रति अमेरिका सकारात्मक रहेको उल्लेख गर्दै आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। उनले सार्वजनिक विद्यालयको गुणस्तर सुधारका लागि नेपाल सरकारले थालेका प्रयासमा अमेरिकी सरकार आगामी दिनमा पनि साझेदारका रूपमा रहने विश्वास व्यक्त गरे।