काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्न थालेको चर्चा सत्ता र राजनीतिक वृत्तमा तीव्र बनेको छ। यही चर्चाकै बीच काभ्रेपलाञ्चोकस्थित एक निजी रिसोर्टमा रवि–स्वर्णिमबीच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
स्रोतहरूका अनुसार सरकार सञ्चालनको शैलीलाई लिएर रास्वपाभित्र पछिल्लो समय असन्तुष्टि बढ्दै गएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले निर्णय प्रक्रियामा अत्यधिक एकल शैली अपनाएको, मन्त्रीहरू र पार्टी नेतृत्वसँग पर्याप्त समन्वय नगरेको तथा महत्वपूर्ण निर्णयहरू सीमित घेराभित्रबाट भइरहेको गुनासो पार्टीभित्रै उठ्न थालेको बताइन्छ।
यही पृष्ठभूमिमा शनिबार रवि लामिछाने र डा. स्वर्णिम वाग्ले काभ्रेपलाञ्चोकस्थित एक निजी रिसोर्टमा भेटिएका थिए। केही समयपछि रवि पत्नी निकितासहित रिसोर्ट पुगेका थिए भने उनीहरू डा. वाग्लेको लगानी रहेको निजी भिल्लामा बसेका थिए। भेटको एजेन्डाबारे भने कुनै औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।
रास्वपाका केही सांसदहरूले समेत पछिल्ला दिनमा सरकारका नीति, निर्णय र कार्यशैलीमाथि सार्वजनिक रूपमा प्रश्न उठाउँदै आएका छन्। सरकारको काम गर्ने शैली, समन्वय र निर्णय प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गर्ने क्रम बढेपछि पार्टीभित्र नेतृत्व र आगामी राजनीतिक रणनीतिबारे छलफल सुरु भएको चर्चा पनि चलिरहेको छ।
यद्यपि डा. स्वर्णिम वाग्लेलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने विषयमा रास्वपाले कुनै आधिकारिक निर्णय गरेको छैन। त्यसैले यो विषय अहिले राजनीतिक वृत्तमा चलिरहेको चर्चा र विश्लेषणकै तहमा सीमित छ। तर सरकार सञ्चालनको शैलीमाथि बढ्दो असन्तुष्टि, आफ्नै सांसदहरूको आलोचना र त्यसकै बीच शीर्ष नेताहरूको गोप्य भेटले आगामी राजनीतिक समीकरणबारे चासो भने उल्लेखनीय रूपमा बढाएको छ।