काठमाडौं । मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ । देशको दक्षिणी प्रशान्त महासागरीय किनार र ग्वाटेमालाको सीमा क्षेत्रमा गएराति ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार भूकम्पको धक्का मेक्सिको सिटीदेखि अल साल्भाडोरसम्म महसुस गरिएको थियो । शक्तिशाली धक्काका बाबजुद कुनै पनि देशमा ठूलो क्षति वा मानवीय क्षतिको विवरण प्राप्त नभएको बीबीसीले जनाएको छ, यद्यपि दक्षिणी मेक्सिकोमा दुई जना घाइते भएको समाचारमा उल्लेख छ ।
भूकम्पलगत्तै अमेरिकी सुनामी चेतावनी प्रणाली र मेक्सिकोको नौसेनाले प्रशान्त महासागरीय तटीय क्षेत्रमा खतरनाक सुनामीको लहर आउन सक्ने चेतावनी दिएका थिए । पछि सुनामीको खतरा टरेको घोषणा गरिए पनि तटीय क्षेत्रका बासिन्दाहरूलाई चनाखो रहन र सतर्कता अपनाउन भनिएको छ।