काठमाडौँ । सरकारले सुकुम्बासी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका बालबालिकाहरूको शिक्षा प्रभावित हुन नदिन विद्यालय लैजान र ल्याउन निःशुल्क बस सेवाको व्यवस्था गरेको छ। सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मंगलबार देखि नै लागू हुने गरी भक्तपुरका दुई स्थानमा बस सेवा सञ्चालनमा ल्याइएको जानकारी दिएका छन् ।
विपद्का कारण विस्थापित भएका विद्यार्थीहरूलाई पायक पर्ने स्थानबाट साविककै विद्यालयसम्म पु¥याउन भक्तपुरको खरिपाटी र बोडेमा दुई वटा बसको व्यवस्था मिलाइएको हो।
मन्त्रालयका अनुसार कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका बालबालिकाहरूलाई हाल भक्तपुरको खरिपाटी र बोडेमा स्थानान्तरण गरिएको छ। हाल खरिपाटी सेन्टरमा २१ जना र बोडे सेन्टरमा १८ जना गरी कुल ३९ जना विद्यार्थी आश्रित छन्।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले भने, “सुकुम्बासी होल्डिङ सेन्टरमा रहेका विद्यार्थीहरूको समस्या पूर्ण रूपमा समाधान नभएसम्मका लागि सरकारले बसको व्यवस्था मिलाएको छ। आजैदेखि दुई वटा बस सञ्चालनमा आइसकेका छन्, जसले विद्यार्थीहरूलाई उनीहरू भर्ना भएकै पुराना विद्यालयहरूमा सुरक्षित रूपमा लैजाने र ल्याउने काम सुरु गरेका छन्।”
मन्त्रालयले विस्थापित विद्यार्थीहरूलाई पायक पर्ने नजिकैका अन्य विद्यालयमा स्थानान्तरण गर्ने विकल्पबारे पनि छलफल चलाएको थियो। तर, विद्यार्थीहरूले आफ्ना पुराना साथीहरू र पुरानै विद्यालयमा अध्ययन जारी राख्ने इच्छा व्यक्त गरेपछि सरकारले यातायातको व्यवस्था मिलाएको हो।
यसका साथै, केही दिनअघि कीर्तिपुर क्षेत्रमा बाढी पसेका कारण होल्डिङ सेन्टरका बालबालिकाहरूको कापी, किताब र अन्य शैक्षिक सामग्रीहरू भिजेर नष्ट भएका थिए। मन्त्री पोखरेलका अनुसार बालबालिकाहरूको शैक्षिक सत्र खेर जान नदिन मन्त्रालयले उनीहरूलाई तत्कालै नयाँ पाठ्यपुस्तक, झोला र स्टेसनरी सामग्रीसमेत उपलब्ध गराएको छ। सरकारको यो कदमले संकटमा परेका सुकुम्बासी र सीमान्तकृत परिवारका बालबालिकालाई ठुलो राहत पुगेको छ।