काठमाडौँ । नेपालबाट विभिन्न मुलुकमा भ्रमण (घुमघाम) गर्न र उच्च शिक्षा अध्ययनका लागि जाने नेपालीहरूसँगै चालु आर्थिक वर्षको ११ महिनामा मात्रै देशबाट करिब दुई खर्ब रुपैयाँ बाहिरिएको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२÷८३ को ११ महिनाको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा उल्लेख गरिएको छ ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउन १ गतेदेखि जेठ मसान्तसम्मको ११ महिनाको अवधिमा विदेश भ्रमण र अध्ययनका लागि नेपालीहरूले कुल १ खर्ब ९३ अर्ब ६५ करोड रुपैयाँ विदेश पु¥याएका छन्।
यद्यपि, यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा भने केही न्यून हो। अघिल्लो आर्थिक वर्ष २०८१÷८२ को समीक्षा अवधि (११ महिना) मा विभिन्न देशमा घुम्न र पढ्न जाने नेपालीहरू मार्फत कुल २ खर्ब ३ अर्ब १८ करोड रुपैयाँ नेपालबाट बाहिरिएको थियो। गत वर्षको तुलनामा यस वर्ष विदेशिने रकममा ४.७ प्रतिशतले कमी आएको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ।
कुल वैदेशिक खर्च (भ्रमण र शिक्षा) मा समग्र रूपमा केही गिरावट आए पनि विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरूले लैजाने रकम भने गत वर्षको तुलनामा बढेको छ। तथ्याङ्क अनुसार मुलुकभित्रै उच्च शिक्षाको पर्याप्त वातावरण नहुँदा र परामर्शदाता संस्थाहरूको आकर्षणका कारण नेपाली विद्यार्थीहरू मार्फत मुलुकको ठुलो धनराशी बाहिरिने क्रम वर्षेनी तीव्र बन्दै गइरहेको छ, जसले देशको शोधनान्तर स्थिति र विदेशी विनिमय सञ्चितिमा समेत प्रत्यक्ष दबाब सिर्जना गरिरहेको अर्थशास्त्रीहरू बताउँछन्।