काठमाडौँ । भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा अमेरिकी नागरिक तथा संस्कृतिविद्डा. आना एम सिस्टरले नेपाली भाषामा श्लोक वाचन र मन्तव्य प्रस्तुत गर्दै सहभागीको मन जितेकी छन्।
सोमबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा उनले करिब दुई दशकअघि विद्यार्थीका रूपमा नेपाल आएको अनुभव सुनाउँदै नेपाली भाषा सिक्ने आफ्नो यात्राबारे पनि चर्चा गरिन्। नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय डा. सिस्टरले नेपालीमै सम्बोधन गर्नुका साथै भानुभक्त आचार्यद्वारा नेपालीमा अनूदित रामायणका श्लोक वाचन र गीत प्रस्तुत गरेकी थिइन्।
उनको प्रस्तुति उपस्थित साहित्यकार तथा दर्शकले निकै रुचिपूर्वक सुनेका थिए। स्पष्ट उच्चारण, आत्मविश्वासपूर्ण प्रस्तुति र नेपाली भाषाप्रतिको आत्मीयताले कार्यक्रममा सहभागी सबैलाई प्रभावित बनाएको थियो। डा. सिस्टरले नेपाल आउनुअघि क्यासेट सुनेर नेपाली भाषा सिक्न थालेको स्मरण गर्दै त्यतिबेला नेपाली भाषा र संस्कृतिको सेवाका लागि यस्ता सम्मान प्राप्त गर्ने अवसर मिल्छ भन्ने कल्पना समेत नगरेको बताइन्। उनले आफूलाई प्रदान गरिएको सम्मानलाई व्यक्तिगत उपलब्धिभन्दा पनि नेपाली भाषा, साहित्य र संस्कृतिप्रतिको सम्मानका रूपमा लिएको उल्लेख गरिन्।