काठमाडौँ । नेपाल राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा बुधबार सार्वजनिक गरेको छ। बोर्डले सार्वजनिक गरेको विवरण अनुसार यस वर्षको ग्रेडवृद्धि परीक्षामा कुल ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन्।
ग्रेडवृद्धि परीक्षामा देशभरबाट कुल १ लाख २९ हजार ११४ जना विद्यार्थीहरू सहभागी भएका थिए। तीमध्ये ८३ हजार ५२३ जना विद्यार्थीले उत्तीर्ण ग्रेड प्राप्त गरी माथिल्लो कक्षा (कक्षा ११) मा भर्ना हुन योग्य भएका छन्।
जीपीएअनुसार सबैभन्दा धेरै ५१ हजार ४३८ विद्यार्थीले २.४० देखि २.८० सम्म जीपीए प्राप्त गरेका छन् । त्यस्तै १६ हजार ४६७ जनाले २.८० देखि ३.२०, १४ हजार ३६२ जनाले २.०० देखि २.४०, १ हजार १९५ जनाले ३.२० देखि ३.६०, ४५ जनाले १.६० देखि २.०० तथा १६ जनाले ३.६० देखि ४.०० जीपीए हासिल गरेका छन् । ०.८०–१.२० र १.२०–१.६० जीपीए प्राप्त गर्ने विद्यार्थी भने छैनन् ।
बोर्डले नतिजा वेबसाइट, आईभीआर तथा एसएमएस÷यूएसएसडी सेवामार्फत हेर्न सकिने जनाएको छ । नतिजामा चित्त नबुझे पुनर्योगका लागि बोर्डले तोकेको अवधिभित्र अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था पनि गरिएको छ ।
यसैबीच, परीक्षा मर्यादा विपरीत कार्य गरेको आरोपमा केन्द्राध्यक्षबाट सिफारिस भएका ७ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।