काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का नवनियुक्त उपकुलपति प्रा.डा. भोला थापाले आज सोमबार कीर्तिपुरस्थित उपकुलपति कार्यालय पुगेर औपचारिक रूपमा आफ्नो पदभार ग्रहण गरेका छन्।
पदभार ग्रहण गरेपश्चात् आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै नवनियुक्त उपकुलपति प्रा.डा. थापाले सरकारले आफूमाथि दर्शाएको विश्वासलाई आत्मसात गर्दै सबैसँगको समन्वय र सहकार्यका आधारमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। “जुन विश्वासले मलाई सरकारले यहाँ पठाएको छ, सबैसँगको समन्वय र सहकार्यबाट म अघि बढ्नेछु,“ उनले भने, “तपाईंहरूले राम्रो गरिरहनुभएको छ र यसलाई अझ उचाइमा पु¥याउनुपर्छ।“
आफ्नो उच्च शिक्षाको सुरुवात त्रिभुवन विश्वविद्यालयबाटै भएको स्मरण गर्दै प्रा.डा. थापाले आफूलाई त्रिवि परिवारले बाहिरको व्यक्तिका रूपमा नलिन आग्रह गरे। “यहाँहरूले मलाई कहिल्यै पनि बाहिरबाट आएको नसम्झिदिनुहोला,“ उनले भने, “मेरो उच्च शिक्षाको सुरुवात त्रिविबाटै भएको हो। सेवाको क्रममा मात्र म काठमाडौँ विश्वविद्यालयमा आबद्ध भएको थिएँ।“
देशको उच्च शिक्षाको मुख्य र बृहत् जिम्मेवारी त्रिविकै काँधमा रहेको उल्लेख गर्दै उनले अब विश्वविद्यालयको प्रतिस्पर्धा घरेलु बजारमा मात्र सीमित हुन नहुने बताए। प्रा.डा. थापाले थपे, “तपाईंहरूसँगै म पनि जिम्मेवारी लिन आएको छु। हाम्रो प्रतिस्पर्धा नेपालभित्रका अन्य विश्वविद्यालयहरूसँग होइन, अब हामीले संसारका उत्कृष्ट विश्वविद्यालयहरूसँग प्रतिस्पर्धा गर्नुपर्छ।“
नवनियुक्त उपकुलपति प्रा.डा. भोला थापासँग यसअघि काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति तथा प्रशासनिक नेतृत्व सम्हालेको लामो र सफल अनुभव छ।