काठमाडौँ। नेकपा एमालेका सांसद डा. अर्जुन कुमार कार्कीले सरकारले उच्च शिक्षामा अझ उदार भएर लगानी बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा शिक्षा क्षेत्रको बजेटमाथि बोल्दै उनले उच्च शिक्षामा पर्याप्त लगानी नगरे देशको मानव पूँजी विकास कमजोर हुने चेतावनी दिए। उनका अनुसार दुर्गम क्षेत्रका विद्यार्थीहरूले कमजोर पूर्वाधारका बाबजुद अन्तर्राष्ट्रिय विश्वविद्यालयमा उत्कृष्टता हासिल गर्दै वैज्ञानिक, समाजशास्त्री र प्राध्यापकका रूपमा सफलता प्राप्त गरिरहेका छन्, जसले नेपाली विद्यार्थीको क्षमता प्रमाणित गर्छ।
कार्कीले आफू अमेरिकामा राजदूत हुँदा नेपाली मूलका सयौं प्राध्यापकहरू विभिन्न विश्वविद्यालयमा कार्यरत भेटेको अनुभव सुनाउँदै उच्च शिक्षामा राज्यले थप उदार लगानी गर्नुपर्ने बताए। उनले चालु बजेटमा शिक्षा क्षेत्रलाई करिब १.२८ प्रतिशत मात्र हिस्सा छुट्याइएको उल्लेख गर्दै यो अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार आवश्यक स्तरभन्दा निकै कम भएको टिप्पणी गरे। सांसद कार्कीले छात्रवृत्ति कार्यक्रम कमजोर रहेको भन्दै वर्तमान रकम विद्यार्थीका लागि अपर्याप्त भएको बताए।उनका अनुसार अब शिक्षा प्रणालीलाई प्रमाणपत्रमुखी नभई सीप, रोजगार र उद्यमशीलतासँग जोडिएको ‘आउटकम–बेस्ड’ बनाउनुपर्ने आवश्यकता छ।