काठमाडौँ। शिक्षामन्त्री सस्मित पोखरेलले उच्च शिक्षा क्षेत्रमा अनुशासन र सुशासन स्थापना गर्ने अभियानले उल्लेखनीय उपलब्धि हासिल गरेको बताएका छन्।
शिक्षा तथा खेलकुद मन्त्रालयको पहल र त्रिभुवन विश्वविद्यालयको सक्रियतामा अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकहरूबाट हालसम्म १० करोड ४६ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता भएको मन्त्री पोखरेलले जानकारी दिएका छन्। साथै, थप प्राध्यापकहरू पनि रकम फिर्ता गर्ने प्रक्रियामा रहेको उनले बताएका छन्। उनका अनुसार अध्ययन बिदा उच्च शिक्षालाई दक्ष, अनुसन्धानमुखी र अन्तर्राष्ट्रिय स्तरको बनाउने उद्देश्यले प्रदान गरिने अवसर हो। तर, सार्वजनिक स्रोतको दुरुपयोग गर्दै सेवामा नफर्किने प्रवृत्तिले संस्थागत र नैतिक दुवै क्षति पुगेको थियो।
मन्त्री पोखरेलले मन्त्रालयको सक्रियता, छानबिन प्रक्रिया र कानुनी कदमका कारण रकम फिर्ता हुने प्रक्रिया तीव्र बनेको उल्लेख गर्दै यो उपलब्धि केवल आर्थिक असुली मात्र नभई सार्वजनिक उत्तरदायित्व र संस्थागत अनुशासन सुदृढ गर्ने महत्वपूर्ण कदम भएको बताए। उनले शिक्षा क्षेत्रमा सुशासन, पारदर्शिता र जवाफदेहितालाई अझ मजबुत बनाउँदै उच्च शिक्षाको गुणस्तर सुधार गर्न मन्त्रालय प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।