काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौँ गोकर्णेश्वर नगरपालिका–३ बस्ने सिन्धुपाल्चोक साँगाचोकगढी गाउँपालिका–२ घर भएका २६ वर्षीय निमा तामाङ, काठमाडौँ महानगरपालिका–३२ बस्ने महोत्तरी बर्दिबास नगरपालिका–६ घर भएका २४ वर्षीय बिबेक साह, काठमाडौं चन्द्रागिरी नगरपालिका–१ बस्ने सप्तरी राजविराज नगरपालिका–८ घर भएका ५२ वर्षीय उज्वल कुमार थापा र काठमाडौँ महानगरपालिका–९ बस्ने तेह्रथुम लालिगुराँस नगरपालिका–५ घर भएका ३५ वर्षीय खेम बहादुर बस्नेत रहेको प्रहरीले जनाएको छ ।
पक्राउ मध्ये निमाले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट २२ लाख ८५ हजार रुपैयाँ, बिबेकले जर्जिया, माल्टा लगायतका देशहरू पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख ३५ हजार रुपैयाँ, उज्ज्वलले हङ्गेरी र रोमानिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ९ लाख ६२ हजार रुपैयाँ र खेम बहादुरले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले निमालाई काठमाडौँ महानगरपालिका–६ बाट, बिबेकलाई काठमाडौँ महानगरपालिका–१० बाट र उज्वललाई काठमाडौँ महानगरपालिका–३१ बाट मङ्गलबार तथा खेम बहादुरलाई काठमाडौं महानगरपालिका–११ बाट बुधबार पक्राउ गरेको हो ।
पक्राउ मध्ये निमा र बिबेकलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ भने उज्ज्वल र खेम बहादुरलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।