काठमाडौँ। नेपाल–चीन सीमा नाका कोरला हुँदै भित्रिएका ७७४ वटा बीवाईडी ब्रान्डका विद्युतीय सवारीसाधन (ईभी) सशस्त्र प्रहरी बलको नियन्त्रणमा परेका छन्।
सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टका अनुसार बजेटअघि नै करको दर परिवर्तनसम्बन्धी सूचना चुहिएको आशंकामा थप अनुसन्धानका लागि ती सवारीसाधन नियन्त्रणमा लिइएको हो। बुधबार राति कास्कीदेखि मुस्ताङसम्मका विभिन्न सडक खण्डमा गरिएको जाँच अभियानका क्रममा नम्बर प्लेटविहीन अवस्थामा विभिन्न जिल्लातर्फ लैजाँदै गरिएका बीवाईडी गाडीहरू फेला परेपछि नियन्त्रणमा लिइएको उनले बताए।
उनका अनुसार भन्सार प्रक्रिया, कर निर्धारण तथा बजेटअघिको आयात प्रक्रियामा सम्भावित अनियमितता भएको आशंकामा अनुसन्धान अघि बढाइएको छ। छानबिनपछि दोषी देखिए सम्बन्धित व्यक्ति तथा निकायमाथि कानुनी कारबाही हुने बताइएको छ। यसैबीच, बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इन्ककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठसँग सम्पर्क गर्न खोजिए पनि उनीसँग सम्पर्क हुन नसकेको स्रोतले जनाएको छ। सरकारले आर्थिक वर्ष २०८३–८४ को बजेटमार्फत विद्युतीय सवारीसाधनसम्बन्धी कर संरचनामा परिवर्तन गरेपछि सोही परिवर्तनको फाइदा लिन बजेटअघि ठूलो संख्यामा सवारीसाधन आयात गरिएको हुन सक्ने आशंकामा अनुसन्धान केन्द्रित गरिएको बताइएको छ।