काठमाडौँ। निर्दोष बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार तथा अन्यायविरुद्ध सचेतना फैलाउने उद्देश्यले आज विश्वभर ‘निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’ मनाइँदै छ ।
हरेक वर्ष जुन ४ मा मनाइने यो दिवसका अवसरमा विभिन्न देशमा सचेतनामूलक कार्यक्रम, छलफल तथा अभियान सञ्चालन गरिन्छ। बालबालिकाको अधिकार, सुरक्षा र संरक्षण सुनिश्चित गर्ने विषयमा जनचेतना अभिवृद्धि गर्नु यसको मुख्य उद्देश्य हो। विश्वका विभिन्न स्थानमा बालबालिकाले भोगिरहेका शारीरिक, मानसिक र भावनात्मक हिंसाका घटनाप्रति ध्यानाकर्षण गराउँदै उनीहरूको सुरक्षित र सम्मानजनक जीवन सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायले यो दिवस मनाउँदै आएको छ। बालबालिकामाथि हुने सबै प्रकारका हिंसा, शोषण र दुर्व्यवहारको अन्त्य गर्दै उनीहरूको हकहितको संरक्षणका लागि सरकार, सरोकारवाला निकाय तथा समाजका सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने सन्देश पनि यस दिवसले दिएको छ।