काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसले विभेदरहित समाज निर्माणको अभियानलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेका छन्।
बिहीबार आयोजित दिवस विशेष कार्यक्रममा बोल्दै उनले संविधान र कानुनले समानताको प्रत्याभूति गरे पनि समाजमा अझै जातीय विभेद, छुवाछूत, सामाजिक बहिष्करण तथा अवसरको असमान पहुँचजस्ता समस्या विद्यमान रहेको बताए। सभामुख अर्यालले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस नेपालको सामाजिक न्याय, समानता र मानव अधिकारको यात्रामा महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे। इतिहासका विभेदपूर्ण अभ्यासलाई अन्त्य गर्दै समान र सम्मानजनक समाज निर्माणतर्फ अघि बढ्न यो दिवसले प्रेरणा दिएको उनको भनाइ थियो।
उनले दलित समुदायले लामो समयदेखि अन्याय, विभेद र बहिष्करणको पीडा भोग्दै आएको उल्लेख गर्दै ती समस्याको स्थायी समाधानका लागि राज्य, राजनीतिक दल, नागरिक समाज र आम समुदायबीच सहकार्य आवश्यक रहेको बताए। उनका अनुसार यो दिवस केवल विगतका घटनाहरू सम्झने अवसर मात्र नभई अझै बाँकी रहेका विभेद र असमानताको अन्त्य गर्ने प्रतिबद्धता पुनः दोहोर्याउने अवसर पनि हो। सभामुख अर्यालले दलित समुदायको सम्मान, सुरक्षा, समान अवसर र न्याय सुनिश्चित गर्न राज्य प्रतिबद्ध रहेको स्पष्ट पार्दै जातीय विभेद तथा छुवाछूतको अन्त्य कुनै एक निकायको जिम्मेवारी नभई सम्पूर्ण समाजको साझा दायित्व भएको बताए।