काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरोला नाकाबाट गैरकानुनी रूपमा भित्र्याइएका ठुलो संख्याका विद्युतीय गाडीहरू नियन्त्रणमा लिएको छ। भन्सार छली गरेर नेपाल भित्र्याइएको आशंकामा सशस्त्र प्रहरीले बुधबार राति विभिन्न जिल्लाबाट कुल ७७४ वटा विद्युतीय गाडीहरू नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाका विभिन्न सडकखण्ड तथा स्थानहरूबाट ती गाडीहरू नियन्त्रणमा लिइएका हुन्।
ठुलो परिमाणमा रहेका गाडीहरूलाई एकैपटक नियन्त्रणमा लिनका लागि सशस्त्र प्रहरीले विभिन्न जिल्लाका आफ्ना युनिटहरूबाट व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरेको थियो। जसमा सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं. २५ चण्डिका गण पर्वत, नं. २४ कालिका गण कास्की परिचालन गरिएको छ । यी चारवटै सुरक्षा निकायको संयुक्त र समन्वयकारी अप्रेशनबाट ती गाडीहरू रोक्न प्रहरी सफल भएको हो।
यसैबीच, उपत्यका भित्रिने अर्को नाकाको रूपमा रहेको नुवाकोटको पासाङल्हामु सडकखण्डबाट समेत सशस्त्र प्रहरीले थप २ वटा शंकास्पद गाडीहरू नियन्त्रणमा लिएको जनाएको छ। कोरोला नाकाबाट भित्रिएका गाडीहरूसँगै यसको पनि सम्बन्ध भए÷नभएकोबारे अनुसन्धान भइरहेको छ।
राजस्व चुहावट र भन्सार प्रक्रिया मिचेर गाडीहरू नेपाली बजारमा लैजान लागिएको सूचनाका आधारमा यो कारबाही गरिएको सशस्त्र प्रहरीले उल्लेख गरेको छ। नियन्त्रणमा लिइएका सबै ७७४ वटा गाडीहरूलाई आवश्यक कानुनी कारबाही र विस्तृत अनुसन्धानका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ।