काठमाडौँ । देशका विभिन्न भागमा परेको वर्षासँगै आएको बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित भएका छन् ।
नेपाल प्रहरीको आज बिहान ८ बजेसम्मको तथ्याङ्क अनुसार बागमती, कोशी र लुम्बिनी प्रदेशका थुप्रै सडक खण्डहरू पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन् ।
काठमाडौँको चन्द्रागिरी नगरपालिका–९ देउराली देवीस्थान नजिकै सतुङ्गल–चित्लाङ सडक खण्डमा पहिरो गएका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । सो स्थानमा मर्मत कार्य जारी रहेकाले बाटो करिब एक महिनासम्म बन्द रहने जनाइएको छ।
यस्तै, काभ्रेपलाञ्चोक जिल्ला भएर जाने बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा बाढीको उच्च जोखिम रहेकाले सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
कोशी प्रदेशका विभिन्न जिल्लामा पनि सडक अवरोध देखिएको छ । पाँचथरको याङवरक गाउँपालिका-२ दोभान स्थित मध्य पहाडी लोकमार्ग बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ । यद्यपि, केही स्थानमा भने यातायात एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।
भोजपुर नगरपालिका–५ बोखिममा बाढीका कारण प्रभावित मध्य पहाडी लोकमार्ग वैकल्पिक बाटो प्रयोग गरी एकतर्फी सुचारु गरिएको छ । त्यसैगरी, संखुवासभाको मकालु गाउँपालिका–३ नयाँ बस्तीमा पहिरोका कारण अवरुद्ध कोशी राजमार्ग पनि अहिले एकतर्फी रूपमा सञ्चालनमा छ ।
रोल्पामा पनि पहिरोले क्षति पुर्याएको छ । रोल्पाको परिवर्तन गाउँपालिका–१ बाङ्गा स्थित घोराही-थवाङ सहिद राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक विभाग र सुरक्षा निकायहरूले अवरुद्ध सडकहरू खुलाउने प्रयास गरिरहेका छन् ।
वर्षा जारी रहेकाले यात्रा गर्नुअघि सम्बन्धित जिल्ला प्रशासन वा प्रहरी कार्यालयमा सम्पर्क गरी सडकको अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरिएको छ ।
