काठमाडौँ । जेन–जी आन्दोलनका क्रममा राष्ट्रपति कार्यालय शीतलनिवासबाट बहुमूल्य वन्यजन्तु हात्तीको दाह्रा चोरी गरेको आरोपमा पाँच जना युवाहरूलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको विशेष टोलीले उनीहरूलाई हात्तीको दाह्रा लुकाएर सञ्चय गरेको र बिक्री वितरण गर्न ग्राहक खोजिरहेको भन्ने विशेष सूचनाको आधारमा पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौंको तार्केश्वर नगरपालिका–९ मनमैजु बस्ने २५ वर्षीय राजिव महर्जन, गोरखाको धार्चे गाउँपालिका–४ लाप्राक घर भई हाल मनमैजु बस्ने २६ वर्षीय टेकप्रसाद गुरुङ र काठमाडौं महानगरपालिका–१७ घर भएका २७ वर्षीय आयुष महर्जन रहेका छन्। त्यस्तै, पक्राउ पर्ने अन्यमा बैतडीको डिलासैनी गाउँपालिका–३ घर भई हाल टोखा नगरपालिका–२ सपनतिर्थ बस्ने २४ वर्षीय पुरन बोहरा र गोरखाको अजिरकोट गाउँपालिका–४ घर भई हाल मनमैजु बस्ने २० वर्षीय सन्तबहादुर भुजेल रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) तथा प्रवक्ता शरद थापाका अनुसार मनमैजु एरियामा राजिव महर्जनसहितका व्यक्तिहरूले शीतलनिवासबाट चोरी गरी ल्याइएको प्रतिबन्धित वन्यजन्तु हात्तीको दाह्रा अवैध रूपमा बिक्री वितरण गर्न लागेको भनी विशेष सुराकी मिलेको थियो। सोही सूचनाका आधारमा तत्काल खटिएको प्रहरीको टोलीले घेराबन्दी गरेर उनीहरूलाई दाह्रासहित नियन्त्रणमा लिन सफल भएको हो। पक्राउ परेका पाँचै जनामाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अन्तर्गत आवश्यक अनुसन्धान र कानूनी कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ।