काठमाडौँ । काठमाडौँको नक्साल क्षेत्रमा बसेर शंकास्पद तथा अवैध गतिविधिमा संलग्न रहेको अभियोगमा दुई जना चिनियाँ नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको विशेष टोलीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१ बस्दै आएका चिनियाँ नागरिक ३३ वर्षीय वाङ वेन्ड (ध्ब्ल्न् ध्भ्ल्म्) र चेन शुआङ्गुई रहेका छन्। उनीहरूको स्थायी घर चीनको फुजियान प्रान्तमा रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार चिनियाँ नागरिकहरू भिजिट भिसामा नेपाल आएर भिसाको उद्देश्य विपरीत शंकास्पद गतिविधि गरिरहेको भन्ने विशेष सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले नक्साल नारायणचौर एरियामा अपरेसन चलाएर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका चिनियाँ नागरिकहरूले नक्साल नारायणचौरस्थित आरआर बिल्डिङमा ‘एन्ट्रो टेक्नोलोजी’ नामक कार्यालय खोलेर अवैध धन्दा चलाइरहेको फेला परेको छ। उनीहरूले ‘लाइभ हब’ नामक मोबाइल एपमार्फत अवैध रूपमा विदेशी मोडल तथा युवतीहरूको एकाउन्ट खोल्ने गरेको खुलेको छ।
प्रहरी अनुसन्धानबाट खुले अनुसार सो एपमार्फत चिनियाँ नागरिकहरूले विशेषगरी विदेशी तथा भारतीय नागरिकहरूलाई साथी बनाउने गर्दथे। युवतीहरूको नाममा एकाउन्ट खोलेर कुराकानी अघि बढाउने र विभिन्न बहानामा मोटो रकम माग गरी अनलाइन ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
पक्राउ परेका दुवै जना चिनियाँ नागरिकहरूलाई भिसा उल्लंघन तथा अवैध गतिविधि सम्बन्धी थप अनुसन्धान र आवश्यक कारबाहीका लागि अध्यागमन विभाग, कालिकास्थान पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।