काठमाडौँ। भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवी लामिछाने ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग भेटवार्ता गरेका छन् । भेटपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत लामिछानेसँगको तस्बिर सार्वजनिक गर्दै नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
मोदीले नेपालसँगको भेटमा खुसी व्यक्त गर्दै साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने इच्छालाई स्वागत गरेको उल्लेख गरेका छन् । उनले नेपाललाई भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत प्राथमिक साझेदारका रूपमा राखिएको पनि बताएका छन् । प्रधानमन्त्री मोदीले नेपालसँगको विशेष र बहुआयामिक सम्बन्धलाई अझ सुदृढ बनाउन भारत प्रतिबद्ध रहेको उल्लेख गर्दै नयाँ सरकारसँग सहकार्य गरेर दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा व्यक्त गरेका छन् । यसैबीच, रवी लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले भारतका विभिन्न राजनीतिक नेतृत्वसँग भेटवार्ता गरिरहेको छ । मोदीसँगको भेटलाई नेपाल–भारतबीचको राजनीतिक संवाद र सम्बन्धलाई थप प्रगाढ बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।