काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी कर्मचारीहरूले नवीनतम सोच एवम् थप सिर्जनशील भई कार्यसम्पादन गर्नुपर्ने बताएका छन् । आफूलाई प्राप्त जिम्मेवारी पूर्ण व्यावसायिक, जनमुखी, इमानदारी एवम् निष्ठापूर्वक सम्पादन गर्नुपर्नेमा उनले बताए ।
हालै सरूवा भई आ–आफ्नो कार्यक्षेत्रमा प्रस्थान गर्न लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन दिँदै आईजीपी कार्कीले उपलब्धिपूर्ण एवम् उत्कृष्ट कार्य सफलताको शुभकामना समेत दिए । निर्देशनका क्रममा महानिरीक्षक कार्कीले सांगठानिक शुद्धीकरण एवम् सुदृढीकरणलाई प्राथमिकतामा राखेर संगठनको श्रीवृद्धिमा थप योगदान पुग्ने गरी जिम्मेवारी बहन गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिए । भ्रष्टाचार र अनियमितता विरुद्ध ‘शुन्य सहनशीलता’को नीतिलाई पूर्ण रूपमा अवलम्बन गर्न उनले आग्रह गरेका थिए ।
आफ्नो कार्यक्षेत्रमा प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखी योजनाबद्ध, पारदर्शी, समयसापेक्ष एवम् नागरिकमैत्री सेवाभावका साथ नतिजामुखी कार्यसम्पादन गर्नुपर्नेमा उनले विशेष जोड दिए । महानिरीक्षक कार्कीले संगठनको नीति निर्देशनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सांगठनिक लक्ष्य हासिल गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू थप सक्रिय हुनुपर्ने उल्लेख गरे । सबै प्रहरी कर्मचारीहरू ‘चेन अफ कमाण्ड’ भित्र रहेर सक्रिय र सामूहिक प्रयासमा केन्द्रीत हुन आवश्यक रहेको बताए ।