काठमाडौँ । समिक्षा बास्कोटा ले समिति बैठकलाई व्यवस्थित, प्रभावकारी र उत्तरदायी बनाउन स्पष्ट कार्यविधि आवश्यक रहेको बताएकी छन् । कानुन, न्याय तथा मानव अधिकार समिति को बुधबार बसेको बैठकमा समितिको कार्यक्षेत्र र कार्यविधिसम्बन्धी छलफलका क्रममा उनले आकस्मिक बैठकको सूचना, डिजिटल हाजिरी तथा सदस्यहरूको उपस्थितिसम्बन्धी व्यवस्था स्पष्ट हुनुपर्नेमा जोड दिइन् ।
बास्कोटाका अनुसार आकस्मिक बैठकको सूचना सकेसम्म छिटो दिनुपर्ने भए पनि कम्तीमा आधा घण्टा वा एक घण्टाअघि जानकारी दिने अभ्यासलाई कार्यविधिमा समेट्न आवश्यक छ । उनले समितिमा सुरु भइसकेको डिजिटल हाजिरी प्रणालीलाई पनि औपचारिक रूपमा कार्यविधिमा समावेश गर्नुपर्ने बताइन् । साथै, विदेश भ्रमण वा लगातार बैठकमा अनुपस्थित हुने सदस्यहरूले पूर्वजानकारी दिनुपर्ने र पाँच वा सोभन्दा बढी बैठकमा अनुपस्थित भएमा लिखित स्पष्टिकरण दिनुपर्ने व्यवस्था आवश्यक रहेको उनको सुझाव छ ।
उनले सूचना आदानप्रदानका लागि कुनै एक विशेष एपको नाम उल्लेख नगरी ‘विद्युतीय माध्यम’ भन्ने शब्द प्रयोग गर्नुपर्ने बताइन् । पत्राचार, टेलिफोन, इमेल, एसएमएस लगायत माध्यमलाई कार्यविधिमा समेट्नुपर्ने उनको धारणा थियो । बैठक पटक–पटक विषयान्तर हुने समस्या देखिएको भन्दै उनले सदस्यहरूको बोल्ने समय सीमित गर्नुपर्ने आवश्यकता औँल्याइन् । उनका अनुसार ३ देखि ५ मिनेटको समयसीमा तोक्ने विषयमा छलफल हुनुपर्छ । त्यस्तै, विधेयकमाथिको छलफलका क्रममा आवश्यकताअनुसार उपसमिति गठन गर्न सकिने तथा विज्ञ, सरोकारवाला र संशोधन प्रस्तावकर्तालाई समेत छलफलमा सहभागी गराउने व्यवस्था कार्यविधिमा समेट्नुपर्ने सुझाव पनि उनले दिइन् ।