काठमाडौँ। बढ्दो गर्मीले मानव स्वास्थ्य र दैनिक जीवनमा पारिरहेको प्रभावबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले राजधानीमा ‘हिट एक्सन डे २०२६’ मनाइएको छ ।
नेपाल रेडक्रस सोसाइटी, अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट महासंघ र यससँग आबद्ध संस्थाहरूको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । यस वर्षको कार्यक्रम ‘इनडोर हिट’ अर्थात् बन्द संरचनाभित्रको तापक्रम वृद्धिबाट हुने असरमा केन्द्रित थियो । कार्यक्रममार्फत घर, विद्यालय, कार्यालय तथा अन्य बन्द स्थानमा बढ्दो तापक्रमले निम्त्याउन सक्ने स्वास्थ्य जोखिमबारे जानकारी दिँदै गर्मीबाट जोगिने उपायबारे सचेतना फैलाइएको आयोजकले जनाएको छ । कार्यक्रममा अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट महासंघ का प्रतिनिधि प्रमुख डेभिड फिसर ले जलवायु परिवर्तनका कारण विश्वभर अत्यधिक गर्मीको समस्या तीव्र बन्दै गएको बताए । उनका अनुसार सन् २०२४ जुनदेखि २०२५ जुनसम्म करिब ४ अर्ब मानिसले कम्तीमा एक महिना बढी गर्मीको सामना गर्नुपरेको अध्ययनले देखाएको छ ।
उनले श्वासप्रश्वास, मुटु तथा मिर्गौलासम्बन्धी रोग भएका व्यक्ति, गर्भवती महिला, बालबालिका र ज्येष्ठ नागरिक बढी जोखिममा पर्ने उल्लेख गर्दै हिट स्ट्रोक र डिहाइड्रेसनजस्ता समस्या बढ्न सक्ने बताए । त्यसैगरी, जल तथा मौसम विज्ञान विभाग की महानिर्देशक डा। अर्चना श्रेष्ठ ले जल तथा मौसमसम्बन्धी सूचना कृषि, ऊर्जा र विकास गतिविधिका लागि महत्त्वपूर्ण हुने बताइन् । उनले समुद्री सतहको तापक्रम परिवर्तन र विकसित हुँदै गरेको एल निनोको प्रभावका कारण नेपालसहित एसियाली मुलुकहरूमा यस वर्ष मनसुन अवधिभर तापक्रम औसतभन्दा माथि रहने अनुमान गरिएको जानकारी दिइन् । विपद् व्यवस्थापन महाशाखा प्रमुख सुरेश पन्थी ले जलवायु परिवर्तनसँगै अत्यधिक गर्मीको जोखिम बढ्दै गएको उल्लेख गर्दै पूर्वतयारी, जनचेतना र समन्वयात्मक कामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
त्यस्तै, नेपाल रेडक्रस सोसाइटी का महामन्त्री मीनबहादुर मल्ल ले जलवायु परिवर्तनका कारण बढ्दो गर्मीबारे सचेतना फैलाउन विश्वभर ‘हिट एक्सन डे’ मनाउने गरिएको बताए । कार्यक्रममा गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, विभिन्न विकास साझेदार संस्था, कूटनीतिक नियोग, निजी क्षेत्र, गैरसरकारी संस्था, शैक्षिक संस्था तथा सञ्चारमाध्यमका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रमअन्तर्गत ‘हिट प्याभिलियन’ मार्फत गर्मीसम्बन्धी सूचना सामग्री, नवप्रवर्तन, फोटो तथा भिडियो प्रदर्शनी गरिएको थियो । साथै, आर्ट कर्नरमा सहभागीहरूले गर्मीसम्बन्धी सन्देश झल्किने कलाकृति पनि प्रस्तुत गरेका थिए । अत्यधिक गर्मीबाट हुने जोखिमबारे जानकारी गराउने र सुरक्षित रहने उपायबारे जनचेतना फैलाउने उद्देश्यले ‘हिट एक्सन डे’ सन् २०२२ देखि मनाउन थालिएको हो ।