काठमाडौँ । विश्वव्यापी स्याटेलाइट इन्टरनेट सेवा प्रदायक स्टारलिंक ले नेपालमा सेवा सञ्चालनका लागि सरकारी स्वीकृतिको प्रतीक्षा गरिरहेको जनाएको छ ।
कम्पनीकी निर्देशक रेबिका हन्टर ले बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिना सँग भएको भेटमा नेपालमा सेवा विस्तार गर्न कम्पनी इच्छुक रहे पनि नीतिगत तथा कानुनी प्रक्रियाका कारण अनुमति प्राप्त हुन नसकेको बताएकी हुन् । मन्त्रालयमा भएको छलफलका क्रममा हन्टरले नेपालमा इन्टरनेट सेवा सञ्चालनका लागि आवश्यक लाइसेन्स प्राप्त गर्ने प्रक्रिया अघि बढिरहेको जानकारी दिइन् । उनले कम्पनीले स्वामित्व संरचनामा शतप्रतिशत स्टारलिंककै सहभागिता चाहेको उल्लेख गर्दै नेपालका केही इन्टरनेट सेवा प्रदायकसँग सहकार्यबारे संवाद भइरहेको पनि बताइन् । भेटमा सञ्चारमन्त्री तिमिल्सिनाले नेपालमा लागू दूरसञ्चार नीति र कानुनी व्यवस्था पूरा गरेपछि सेवा सञ्चालनमा कुनै समस्या नहुने स्पष्ट पारे । विदेशी लगानीकर्ताले नेपालका प्रचलित कानुनअनुसार प्रक्रिया पूरा गर्नुपर्ने उनको भनाइ थियो ।
नेपालमा स्टारलिंकको प्रवेशको चर्चा भइरहँदा हिमाली तथा दुर्गम क्षेत्रमा भरपर्दो इन्टरनेट सेवाको माग भने बढ्दो छ । विशेषगरी सगरमाथा आधार शिविर लगायत उच्च हिमाली क्षेत्रमा इन्टरनेट सेवा महँगो र सीमित रहेको भन्दै पर्यटन व्यवसायी तथा पर्यटकहरूले गुनासो गर्दै आएका छन् । हाल सगरमाथा क्षेत्रमा एभरेस्ट लिङ्क र एयर लिङ्क जस्ता नेपाली सेवा प्रदायकले इन्टरनेट सेवा उपलब्ध गराइरहेका छन् । तर आधार शिविरभन्दा माथिका क्षेत्रमा केही विदेशी स्याटेलाइट इन्टरनेट उपकरण अनधिकृत रूपमा प्रयोग भइरहेको बताइन्छ । यसअघि नेपाल दूरसञ्चार प्राधिकरण ले यस्ता अवैध स्याटेलाइट इन्टरनेट सेवाको प्रयोग नगर्न सूचना जारी गरिसकेको छ । स्टारलिंकले नेपालमा सेवा सुरु गर्न पाए दुर्गम तथा उच्च हिमाली क्षेत्रमा इन्टरनेट पहुँच विस्तार हुने अपेक्षा गरिएको छ । तर कम्पनीले आवश्यक सरकारी अनुमति र नियामकीय प्रक्रिया पूरा नगरेसम्म सेवा सञ्चालन सम्भव नहुने देखिएको छ ।