काठमाडौँ। भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नेतृत्वको टोली अहिले नयाँ दिल्लीमा विभिन्न राजनीतिक भेटवार्तामा सक्रिय रहेको छ।
लामिछानेको प्रतिनिधिमण्डलले मंगलबार भारतीय गृहमन्त्री अमित शाहसँग भेट गर्ने कार्यक्रम तय गरेको छ। साथै, भारतीय विदेशमन्त्री एस जयशंकरसँग पनि भाजपा मुख्यालयमा भेटवार्ता हुने जनाइएको छ। समय अनुकूल भए बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेट हुन सक्ने अपेक्षा गरिएको छ। भेटवार्तामा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीच संवाद र सहकार्य विस्तारका विषयमा छलफल हुने बताइएको छ।
यसअघि मंगलबार नै लामिछानेले भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीनसँग भेट गरेका थिए। नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा भएको भेटमा दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने र सहकार्यका सम्भावित क्षेत्रबारे कुराकानी भएको जनाइएको छ। प्रधानमन्त्री बालेन शाहले नेपाल–भारत सीमा विषयमा दिएको अभिव्यक्तिलाई लिएर नेपालमा राजनीतिक बहस भइरहेका बेला लामिछानेको भारत भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ। भारत बसाइका क्रममा लामिछानेको टोलीले अयोध्या भ्रमण गर्नुका साथै त्यहाँ रहेका नेपाली समुदायसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ।