काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउन माग गरेको छ।
मंगलबार संसदमा बोल्दै राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले राष्ट्रको गरिमासँग जोडिएको विषय भएकाले शीर्ष नेताहरूको सहभागितामा सर्वदलीय छलफल आवश्यक रहेको बताइन्। उनले यस विषयमा सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराएकी हुन्। प्रधानमन्त्रीले नेपालले पनि भारतका केही भूभाग मिचेको भन्ने आशय व्यक्त गरेको भन्दै राप्रपाले त्यसप्रति आपत्ति जनाएको छ। ओलीले उक्त अभिव्यक्ति सच्याउनुपर्नेमा जोड दिँदै संसदलाई बलपूर्वक अघि बढाउने प्रयास नगर्न सभामुखलाई आग्रह गरिन्। उनले प्रधानमन्त्रीको भनाइ अन्तर्राष्ट्रिय स्तरसम्म पुगेको उल्लेख गर्दै यसले देशको छविमा असर पार्न सक्ने टिप्पणीसमेत गरिन्।