काठमाडौँ । दिउँसो १ बजेका लागि तय गरिएको प्रतिनिधिसभा बैठक साढे २ बजेसम्म पनि सुरु हुन सकेको छैन। प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले तथ्य माग गर्दै आएका छन्। तथ्य पुष्टि नभए माफी माग्नुपर्ने उनीहरूको अडान छ।
तर, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यस विषयमा सहमत नभएपछि बैठक प्रभावित बनेको हो। आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने तथा आर्थिक वर्ष २०८३–०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल सुरु गर्ने कार्यसूची रहेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमाथिको सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तयारी रहे पनि बैठक अझै सुरु हुन सकेको छैन।