काठमाडौँ । विपक्षी दलहरूको अवरोधका कारण राष्ट्रिय सभा बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ। अध्यक्ष नारायणप्रसाद दाहालले बैठक स्थगित भएको घोषणा गर्दै अर्को बैठक बुधबार दिउँसो सवा १२ बजे बस्ने जानकारी दिएका छन्।
प्रधानमन्त्री बालेन शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिमा माफी माग्नुपर्ने माग गर्दै विपक्षी दलहरूले बैठक अवरुद्ध गरेपछि कार्यसूची अगाडि बढ्न सकेन। बैठक सुरु हुनुअघि आकस्मिक समयमा बोल्दै राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले उक्त अभिव्यक्तिलाई राष्ट्रहित विपरीत रहेको टिप्पणी गरेका थिए। यसअघि पनि यही विषयलाई लिएर सोमबारको बैठक अवरुद्ध गरिएको थियो।