काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकबाट केही महत्वपूर्ण निर्णयहरू गरेको छ। काठमाडौँमा मंगलबार बसेको बैठकले संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) सँग सम्बन्धित ओजोन तहलाई हानि पुर्याउने पदार्थको व्यवस्थापन र न्यूनीकरण गर्ने मोन्ट्रियल प्रोटोकल कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ।
यो निर्णय वातावरण संरक्षण र ओजोन तह जोगाउन महत्वपूर्ण मानिएको छ। त्यसैगरी, सशस्त्र प्रहरी बल नेपालमा रिक्त रहेको अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा नायब महानिरीक्षक अन्जनी कुमार पोख्रेललाई बढुवा गर्ने निर्णय पनि गरिएको छ। यस्तै, २०८० साल भदौ २३ र २४ गतेको प्रदर्शनका घटनाबारे छानबिन गर्न बनेको आयोगको प्रतिवेदन अध्ययन गरी सिफारिस गर्न गठन गरिएको समितिको कार्यअवधि ४५ दिन थप गर्ने निर्णय गरिएको छ। साथै, भूमि समस्या समाधान समितिको अध्यक्षमा बलभद्र बास्तोला (कास्की) र सदस्यहरूमा अमीरप्रसाद न्यौपाने (काठमाडौँ, पद्मनीति सोती (लमजुङ) र डा. रोहना श्रेष्ठ (काठमाडौँ) लाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ।