काठमाडौँ। कनकासुन्दरी गाउँपालिका वडा नम्बर ३ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ । बालविवाह न्यूनीकरणका लागि सञ्चालन गरिएको अभियानअन्तर्गत वडालाई औपचारिक रूपमा बालविवाहमुक्त घोषणा गरिएको हो ।
‘बिहेवारी २० वर्षपारि, हामी सबैको ऐक्यबद्धता बालविवाहमुक्त कनकासुन्दरी’ भन्ने नारासहित आयोजित कार्यक्रममा देउडा, नाचगान तथा सडक नाटकमार्फत जनचेतना फैलाइएको थियो । स्थानीय तहका अनुसार विगतमा सानै उमेरमा विवाह गर्ने, कम उमेरमै सन्तान जन्माउने तथा त्यसका कारण आमा र शिशुको स्वास्थ्यमा समस्या देखिने अवस्था रहेको थियो । साथै, सम्बन्ध विच्छेदका घटना पनि बढ्दो अवस्थामा रहेको जनाइएको छ । वडा कार्यालयका अनुसार सन् २०२२ मा नयाँ जनप्रतिनिधि निर्वाचित भएपछि समाजमा विद्यमान बालविवाह अन्त्य गर्ने लक्ष्यसहित विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो । त्यसबेला करिब ६० प्रतिशतसम्म रहेको बालविवाहको दर अहिले घटेर २ प्रतिशतमा झरेको दाबी गरिएको छ ।
वडा अध्यक्ष भौर बुढाका अनुसार निरन्तर जनचेतना अभियान र समुदायको सहकार्यका कारण वडा बालविवाहमुक्त घोषणा गर्न सम्भव भएको हो ।गाउँपालिका अध्यक्ष दामोदर आचार्यले समाजमा रहेको विकृति हटाउन स्थानीय सरकारले चरणबद्ध रूपमा अभियान सञ्चालन गरिरहेको बताए । उनका अनुसार हालसम्म वडा नम्बर १, २, ३, ४ र ५ बालविवाहमुक्त घोषणा भइसकेका छन् भने बाँकी वडा पनि छिट्टै घोषणा गर्ने तयारी भइरहेको छ । स्थानीय बिनु बुढाले पहिले कम उमेरमै मागी विवाह गर्ने चलन व्यापक रहेको स्मरण गर्दै अहिले विभिन्न संघसंस्था र स्थानीय सरकारको पहलपछि जनचेतना बढेकाले बालविवाह घट्दै गएको बताइन् । नेपाललाई सन् २०३० सम्म बालविवाहमुक्त राष्ट्र बनाउने लक्ष्यअनुसार विभिन्न पालिकाले अभियानलाई तीव्रता दिएका छन् । वडा नम्बर ३ बालविवाहमुक्त घोषणा भएसँगै जुम्लामा हालसम्म तीन वटा वडा बालविवाहमुक्त घोषित भएका छन् ।