काठमाडौँ। कर्णाली विकास बैंकमा जम्मा गरेको रकम फिर्ता नपाएको भन्दै निक्षेपकर्ताहरूले नेपालगञ्जमा विरोध प्रदर्शन गरेका छन्।
विगत दुई वर्षदेखि आफ्नो बचत रकम फिर्ता नपाएको भन्दै करिब तीन सय निक्षेपकर्ताले बैंकको नेपालगञ्जस्थित कार्यालय घेराउ गरेका हुन्। आन्दोलनमा बाँके, बर्दिया र दाङका पीडित निक्षेपकर्ताहरूको सहभागिता रहेको थियो। निक्षेपकर्ताहरूले आफ्नो रकम तत्काल फिर्ता गर्न र दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। आन्दोलनमा सहभागी बर्दियाकी ललिता थापाले संस्थागत तथा व्यक्तिगत गरी करिब २२ लाख रुपैयाँ बैंकमा रोकिएको बताइन्। उनका अनुसार सयौँ सेवाग्राहीले अझै आफ्नो बचत फिर्ता पाउन सकेका छैनन्। पीडितहरूको भनाइअनुसार केही व्यक्तिहरूको ८० लाखदेखि ७ करोड रुपैयाँसम्म निक्षेप बैंकमा रोकिएको छ। रकम फिर्ता नहुँदा धेरै निक्षेपकर्ता आर्थिक तथा मानसिक समस्यामा परेको उनीहरूको गुनासो छ। उनीहरूले बैंकले करिब ४ अर्ब ३० करोड रुपैयाँ निक्षेपकर्तालाई फिर्ता गर्न बाँकी रहेको दाबी गरेका छन् भने ३ अर्ब २० करोड रुपैयाँ हिनामिना भएको उजुरीसमेत परेको जनाइएको छ।