काठमाडौँ। जोखिमपूर्ण उद्धार कार्यमा खटिने सशस्त्र प्रहरी बलका गोताखोरहरूले हाल पनि दैनिक मात्र २०० रुपैयाँ भत्ता पाउँदै आएको तथ्य सार्वजनिक भएको छ।
पानी, नदी र तालतलैयामा डुबेका व्यक्तिको उद्धार तथा शव निकाल्ने अत्यन्त जोखिमपूर्ण जिम्मेवारीमा खटिने गोताखोरहरूको प्रोत्साहन भत्ता अत्यन्त न्यून रहेको भन्दै सरोकारवालाहरूले पुनर्विचार गर्नुपर्ने माग गरेका छन्। सशस्त्र प्रहरी बलभित्र कार्यरत गोताखोरहरूलाई आवश्यक आधुनिक उपकरण तथा तालिमको अभाव रहेको र जोखिमपूर्ण काम भए पनि प्रोत्साहन कम भएकाले यो पेशाप्रति आकर्षण घट्दै गएको बताइएको छ। यसैबीच चितवनमा आयोजित गोताखोर अनुशिक्षण तालिम उद्घाटन कार्यक्रममा सरोकारवालाहरूले गोताखोरहरूको मनोबल बढाउनुपर्नेमा जोड दिएका छन्। सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) अञ्जनीप्रसाद पोखरेल ले जोखिम मोलेर काम गर्ने गोताखोरहरूको भूमिकालाई उच्च मूल्यांकन गर्दै उनीहरूको मनोबल बढाउनुपर्ने बताए।
भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी ले गोताखोरका लागि आवश्यक उपकरण उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। साथै आवश्यक कार्यविधि बने प्रोत्साहन भत्ता बढाउने विषयमा पनि छलफल गर्न सकिने बताएका छन्। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल ले विपद् उद्धारमा गोताखोरको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरूको सेवा–सुविधा सुधार गर्नुपर्नेमा जोड दिएका छन्। नेपालमा गोताखोर अभावका कारण कतिपय अवस्थामा विदेशबाट समेत उद्धार टोली मगाउनुपर्ने बाध्यता रहेको सुरक्षा निकायले जनाएको छ।