काठमाडौँ । नवराज अधिकारीले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई आधुनिक र प्रभावकारी बनाउन एकीकृत डिजिटल प्रणाली अपरिहार्य रहेको बताएका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको ‘एकीकृत यातायात व्यवस्थापन प्रणाली’ सम्बन्धी कार्यशाला कार्यक्रममा बोल्दै उनले परम्परागत रूपमा हातको संकेतका भरमा सञ्चालन हुँदै आएको ट्राफिक व्यवस्थापनलाई अब प्रविधिमा आधारित प्रणालीमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याए। उनका अनुसार ट्राफिक व्यवस्थापनलाई एउटै नियन्त्रण कक्ष (कन्ट्रोल रुम) मार्फत सञ्चालन गर्ने अवधारणामा काम अघि बढाइएको छ। डिजिटल प्रणालीमार्फत ट्राफिक सञ्चालनलाई थप व्यवस्थित, छिटो र प्रभावकारी बनाउने लक्ष्य रहेको उनले बताए।
एसएसपी अधिकारीले गत भदौ २३ र २४ गते भएको आन्दोलनपछि ट्राफिक व्यवस्थापन, सडक अनुशासन तथा शान्ति–सुरक्षामा परेको प्रभावलाई स्मरण गर्दै त्यसपछिको सुधार योजनामा डिजिटल ट्राफिक प्रणालीलाई प्राथमिकतामा राखिएको जानकारी दिए। उनले ‘फेसलेस ट्राफिक व्यवस्थापन’ को अवधारणा अघि सार्दै ट्राफिक प्रहरी र सेवाग्राहीबीचको प्रत्यक्ष सम्पर्क घटाएर पारदर्शिता बढाउने तथा सम्भावित विवाद कम गर्ने उद्देश्य रहेको बताए। उनका अनुसार डिजिटल प्रविधिको प्रयोगबाट सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन तथा स्मार्ट ट्राफिक व्यवस्थापनलाई थप मजबुत बनाउने तयारी भइरहेको छ।