काठमाडौँ । डडेल्धुराको परशुराम नगरपालिका–५ बाट शुक्रबारदेखि बेपत्ता भएका दुई जना मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार बेपत्ता हुनेमा सशस्त्र प्रहरी बलका जवान ओमप्रकाश पुन मगर र स्थानीय तीर्थबहादुर थापा मगर रहेका छन्।प्रहरीका अनुसार तीर्थबहादुर थापाको शव परशुराम नगरपालिका–५ स्थित महाकाली नदीको कल्पठ्ठे क्षेत्रमा फेला परेको हो। त्यस्तै जवान पुन मगरको शव कञ्चनपुरको ब्रह्मदेवस्थित महाकाली नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ। दुवै जना मामाभान्जा नाता पर्ने र शुक्रबारदेखि बेपत्ता भएका थिए। उनीहरूले प्रयोग गरेको ट्युब नदी किनारमा भेटिएपछि खोजी कार्य तीव्र पारिएको थियो। प्रारम्भिक अनुसन्धान अनुसार उनीहरू महाकाली नदीमा बगेको हुनसक्ने आशङ्कासहित खोजी गरिएको थियो। खोजीका क्रममा एक जनाको शव नदीमा तैरिरहेको अवस्थामा भेटिएको र अर्को शव नदीले बगाएर कञ्चनपुर क्षेत्रसम्म पुर्याएको अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।