काठमाडौँ। कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी ले दुग्ध क्षेत्रलाई व्यवसायिक रूपमा विस्तार गर्न सकेमा यो क्षेत्र राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधार बन्न सक्ने बताएकी छन्।
‘विश्व दूध दिवस २०८३’ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले दूध दिवस केवल औपचारिक कार्यक्रम नभई पोषण, स्वास्थ्य, ग्रामीण अर्थतन्त्र, रोजगारी तथा खाद्य सुरक्षामा दुग्ध क्षेत्रको भूमिका उजागर गर्ने अवसर भएको बताइन्। मन्त्री चौधरीका अनुसार दूधमा आधारित व्यवसाय धेरै कृषक परिवारको प्रमुख आम्दानी स्रोत हो। ग्रामीण क्षेत्रमा दैनिक करिब ११ लाख ५० हजार लिटर दूध संकलन हुने र त्यसबाट झण्डै साढे सात करोड रुपैयाँ बराबरको नगद प्रवाह हुने गरेको उनले जानकारी दिइन्। यसले साना किसान, महिला, युवा तथा सहकारीमार्फत संगठित समुदायको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याएको उनको भनाइ थियो।
उनले दूध, दही, घिउ, मोही, पनिरलगायत दुग्धजन्य पदार्थले घरायसी पोषण तथा खाद्य सुरक्षामा पनि महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन्। दुग्ध क्षेत्रका सम्भावना उच्च रहेको भन्दै मन्त्री चौधरीले व्यावसायिक पशुपालनलाई थप प्रवद्र्धन गर्न सके यो क्षेत्र देशको अर्थतन्त्रको बलियो आधार बन्न सक्ने धारणा राखिन्। समग्र दुग्ध क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय सरकार, किसान, निजी क्षेत्र तथा विकास साझेदारबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा उनले जोड दिइन्।