काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल ले आगामी आर्थिक वर्षको बजेटले लामो समयदेखि सुस्त रहेको अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरेका छन्।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बजेटमा कर सुधारका क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताए। उनका अनुसार वर्षौंदेखि अड्किएका कर सुधारका विषयलाई यस पटक बजेटमार्फत सम्बोधन गरिएको छ। अध्यक्ष अग्रवालले व्यक्तिगत आयकरमा दिइएको राहतलाई सकारात्मक कदम भन्दै वार्षिक १० लाख रुपैयाँसम्मको आम्दानीमा कर छुटको व्यवस्थाले अर्थतन्त्रलाई पारदर्शी बनाउन सहयोग पुग्ने बताए। उनका अनुसार यसअघि कर छुटको सीमा ५–६ लाखसम्म सीमित हुँदा अर्थतन्त्र औपचारिक बन्न नसकेको र नयाँ व्यवस्थाले सुधारको सुरुवात गर्ने अपेक्षा गरिएको छ।
त्यस्तै उनले मूल्य अभिवृद्धि कर (भ्याट)को बहुदर प्रणाली कार्यान्वयनतर्फ सरकार अघि बढ्नु साहसिक कदम भएको टिप्पणी गरे। तर, विद्युत् महसुलमा ५ प्रतिशत भ्याट लगाइएको विषयमा भने उनले असन्तुष्टि जनाए। नेपाल जलस्रोतको प्रचुर सम्भावना भएको देश भएकाले विद्युत् उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने अवस्थामा कर संरचना पुनरावलोकन आवश्यक रहेको उनको भनाइ छ। उनले भ्याट प्रणालीलाई अझ प्रभावकारी बनाउन उच्चस्तरीय अध्ययन समिति गठन गरेर सुधार गर्नुपर्ने सुझाव पनि दिएका छन्। साथै, आवश्यक कानुनी परिमार्जन भएमा पुँजीगत लाभकरसम्बन्धी अन्योल पनि समाधान हुने विश्वास उनले व्यक्त गरेका छन्।