काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले जेनजी आन्दोलनसम्बन्धी सार्वजनिक गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न जेनजी समूहले माग गरेको छ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘राष्ट्रिय जेनजी–नागरिक अभियान’ले प्रतिवेदन सत्ताको प्रभावबाट टाढा रहेर निष्पक्ष रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको हो। अभियानका सह–संयोजक अजय सोडारीले आयोगको प्रतिवेदन अपुरो भए पनि सत्य–तथ्य उजागर गरेको बताउँदै त्यसलाई जस्ताको तस्तै लागू गर्नुपर्ने धारणा राखे। तर उनले प्रतिवेदनमा सरकार र सत्ता पक्षका केही व्यक्तिलाई जोगाउने प्रयास भएको आरोप पनि लगाए।अभियानका सचिव प्रकाश बमले व्यापक दबाबपछि सार्वजनिक गरिएको प्रतिवेदन पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने माग गरेका छन्। त्यस्तै, प्रवक्ता विर्जन विश्वकर्माले प्रतिवेदन ढिलो सार्वजनिक भए पनि स्वागतयोग्य रहेको बताए। अभियानका सदस्यहरूले आन्दोलनका क्रममा मानवअधिकार उल्लङ्घन गर्ने जो–कोहीमाथि कडा कानुनी कारबाही हुनुपर्ने माग गरेका छन्। उनीहरूले प्रतिवेदन कार्यान्वयन नभए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।