काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले प्रतिनिधिसभालाई अझ प्रभावकारी, उत्तरदायी र मर्यादित बनाउन नियमावलीमा भएका नयाँ व्यवस्थाहरू व्यवहारमा लागू गर्नुपर्ने बताएका छन्।
आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नियम ५६ अन्तर्गतको प्रश्नोत्तर व्यवस्था नयाँ अभ्यासका रूपमा यस कार्यकालमा समावेश गरिएको उल्लेख गरे। उनका अनुसार २०६४, २०७० र २०७४ सालका प्रतिनिधिसभामा यस्तो व्यवस्था नभए पनि संसदलाई थप जीवन्त र जनउत्तरदायी बनाउन यो प्रावधान ल्याइएको हो। सांसद पुनले मन्त्रीहरूसँग नियमित अन्तरक्रिया भइरहे पनि सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीसँग प्रत्यक्ष संवाद हुँदा संसद थप सक्रिय र लोकतान्त्रिक बन्ने बताए।
उनले यस्तो अभ्यासले जनप्रतिनिधिले उठाएका प्रश्नको स्पष्ट जवाफ पाउने र सरकारको जनताप्रतिको उत्तरदायित्व पनि बढ्ने धारणा राखे। प्रधानमन्त्री संसदमा उपस्थित भई प्रश्नको जवाफ दिनु सकारात्मक अभ्यास भएको उल्लेख गर्दै उनले यसलाई सत्ता पक्ष र प्रतिपक्षबीचको अहंकारको विषय नबनाउन आग्रह गरे। सांसद पुनले अब नियमावलीका व्यवस्थालाई विधिसम्मत ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिँदै सभामुखलाई कार्यव्यवस्था परामर्श समितिमा यसबारे समीक्षा गर्न सुझाव दिएका छन्। संसद बहस र असहमति राख्ने लोकतान्त्रिक थलो भएको उल्लेख गर्दै उनले व्यक्तिगत रिसइबीका आधारमा विवाद सिर्जना गर्नु उपयुक्त नहुने बताए।