काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले बाँदर व्यवस्थापनको समस्या जटिल भएकाले यसको दीर्घकालीन समाधानका लागि सरकारले अध्ययन गरिरहेको बताएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले बाँदर नियन्त्रणका विषयमा गठित अध्ययन समितिले काम गरिरहेको जानकारी दिएका हुन्। उनले सरकारले हिंसात्मक उपायभन्दा वैकल्पिक र दीगो समाधान खोजिरहेको उल्लेख गर्दै विश्वका विभिन्न देशहरूले अपनाएका बाँदर व्यवस्थापनका अभ्यासबारे अध्ययन भइरहेको बताए।
प्रधानमन्त्री शाहका अनुसार कतिपय देशमा खेतबारी वा जंगल क्षेत्रमा तारबार गरेर मानव बस्ती र जंगली जनावरलाई छुट्याउने उपाय अपनाइएको छ, तर यस्ता उपाय खर्चिलो र चुनौतीपूर्ण हुने गरेका छन्। श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले प्रतिनिधिसभामा बाँदर व्यवस्थापनबारे प्रश्न उठाएका थिए। उनले कृषि र किसानसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसलाई गम्भीर रूपमा लिनुपर्ने बताएका थिए। सांसद राईले बाँदर व्यवस्थापनका लागि आफूले प्रधानमन्त्रीको कार्यकक्षमा पुगेर लिखित रूपमा तीनवटा सुझावसमेत दिएको स्मरण गराएका थिए।