काठमाडौँ । प्रतिनिधिसभा बैठकका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङ आक्रोशित बनेपछि उनकै पार्टीका सांसदहरूले उनलाई बैठक कक्ष बाहिर लगेका छन्।
प्रधानमन्त्री बालेन शाहले आकस्मिक रूपमा सांसदहरूको प्रश्नको जवाफ दिएर सदनबाट बाहिरिएपछि विपक्षी दलका सांसदहरूले नियमापत्तिको विषय उठाइरहेका थिए। सोही क्रममा सांसद तामाङ आक्रोशित रूपमा प्रस्तुत भएकी हुन्। आफ्नो सिटबाट उठेर अगाडिको लहरतर्फ जान खोजेपछि रास्वपाकै सांसदहरूले उनलाई रोक्ने प्रयास गरेका थिए। सांसद रञ्जु दर्शना, ज्वाला संग्रौला र भूमिका श्रेष्ठलगायतले उनको हात समातेर शान्त गराउने प्रयास गरेका थिए। तर अवस्था सामान्य नभएपछि सांसद रञ्जु दर्शना र ज्वाला संग्रौलाले उनलाई बैठक कक्ष बाहिर लगेका हुन्।