काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक–लिम्पियाधुरा सीमा विवाद समाधानका लागि भारत सरकारसँग कूटनीतिक नोट आदान–प्रदान भइसकेको र टेबल–टकमार्फत समाधान खोजिने बताएका छन्।
आइतबार प्रतिनिधिसभामा नेकपा एमालेकी सांसद पद्मा अर्यालले लिपुलेक–लिम्पियाधुरा क्षेत्रबारे भारत र चीनबीच भएको पछिल्लो समझदारीप्रति सरकारको धारणा मागेकी थिइन्। त्यसको जवाफमा प्रधानमन्त्री शाहले सरकारले यस विषयमा दुवै देशलाई कूटनीतिक नोट पठाइसकेको जानकारी दिए। प्रधानमन्त्रीका अनुसार भारतबाट पनि जवाफ प्राप्त भइसकेको छ र दुवै देशबीच ऐतिहासिक तथ्य र सीमा सम्बन्धी विज्ञहरूको सहभागितामा टेबल–टकमार्फत समस्या समाधान गर्ने सहमति भएको छ। उनले यस विषयमा भारत र चीन मात्र नभई बेलायतसँग पनि आवश्यक छलफल गरिने उल्लेख गर्दै आपसी संवादमार्फत समाधान निकालिने सरकारको नीति रहेको बताए।