काठमाडौँ । नेकपा एमालेका सांसद ऐनबहादुर महरले प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधन तथा प्रश्नोत्तर प्रक्रियाप्रति नियमापत्ति जनाएका छन्।
आइतबारको बैठकमा बोल्दै उनले प्रधानमन्त्री सदनमा उपस्थित भई सम्बोधन गर्न चाहनु सकारात्मक भए पनि सम्पूर्ण प्रक्रिया संविधान र प्रतिनिधिसभा नियमावलीअनुसार हुनुपर्नेमा जोड दिए। महरका अनुसार प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ५६ को उपनियम ३ र ४ मा प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि कम्तीमा तीन दिनअघि प्रश्न दर्ता गर्नुपर्ने व्यवस्था स्पष्ट रूपमा उल्लेख गरिएको छ। उनले नियमावलीअनुसार नै प्रश्न दर्ता गरेर मात्र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै लिखित प्रश्न बिना हुने प्रश्नोत्तर स्वीकार्य नहुने तर्क गरे। सांसद महरले सबै पदाधिकारी तथा सदस्यहरू नियमभन्दा माथि नरहेको उल्लेख गर्दै प्रधानमन्त्रीलाई पनि प्रक्रियाभित्र रहेर अघि बढ्न आग्रह गरे। उनले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम नियमावलीअनुसार नै सञ्चालन हुनुपर्नेमा जोड दिएका छन्।